जाल्पादेवी महिला उद्धार समूहको २८ औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

पोखरा-८ सिमलचौरस्थित जाल्पादेवी महिला उद्धार समूहको २८ औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

समूहकी अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले जाल्पादेवी महिला उद्धार समूहले गर्दै आएका सम्पूर्ण कार्यहरू अत्यन्त प्रभावकारी र उपलब्धिमूलक रहेको बताउनुभयो। आगामी दिनहरूमा पनि वडा कार्यालयको तर्फबाट समूहलाई सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै उहाँले संस्थाको सक्रियताको उच्च प्रशंसा गर्नुभयो।

त्यसैगरी, सिर्जना साकोसकी अध्यक्ष शारदा गिरीले समूहले सामाजिक तथा महिला सशक्तीकरणका क्षेत्रमा गर्दै आएका कार्यहरू उत्साहजनक रहेको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सिर्जना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीले उद्धार समूहसँग निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

समारोहमा समूहका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने १८ जना सदस्यहरूलाई सम्मान गरिएको अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिनुभयो। समूहकी उपाध्यक्ष अमृता गिरीले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा वडा सदस्य तथा समूहकी पूर्व अध्यक्ष/सल्लाहकार पवित्रा के.सी., संस्थापक अध्यक्ष शारदा सुवेदी, निवर्तमान अध्यक्ष राधिका थापा, पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय कान्ती अधिकारी र शारदा कुँवर, एवम् सल्लाहकार सन्तुमाया गिरी लगायत १०० भन्दा बढी सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन समूहकी सचिव सुनिता बरालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *