रत्न श्री जिम पोखराका खेलाडी थापालाई गोल्ड

पोखराको ऐतिहासिक रत्नश्री जिमका खेलाडी एवं प्रशिक्षक सुजन थापाले मिस्टर काठमाडौँ ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका छन् । मिस्टर गण्डकी एवं मिस्टर कास्कीका बिजेता समेत रहेका उनले प्रतियोगिताकै निकै प्रतिस्पर्धात्मक विधा ६० केजी तौल समुहमा गोल्ड मेडल प्राप्त गरेका हुन ।

काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सञ्चालन हुँदै आएको नेपालमा आयोजना हुने एक चर्चित शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता को ५५ केजीमा महेन्द्रबहादुर थापा मगर, ६५ केजीमा सुरब थापा, ७० केजीमा नवीन श्रेष्ठ, ७५ केजीमा सागर श्रेष्ठ, ८० केजीमा सगेन्द्र सिंह तथा ८० केजीभन्दा माथिको समूहमा ललित धिमाल प्रथम भएका छन्।

कार्यक्रम काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष सुरेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कार्यक्रमकी प्रमुख अतिथि थिइन्। कार्यक्रममा प्रतिनिधिसभा सदस्य रजनी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएकी थिइन्।

राष्ट्रिय स्तरको यस प्रतियोगितामा मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, मास्टर मिस्टर काठमाडौँ प्रतियोगिता, जुनियर मिस्टर काठमाडौँ प्रतियोगिता, पुरुष एथलेटिक फिजिक्स प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता तथा पुरुष स्पोट्स फिजिक्स प्रतियोगिता भएको थियो ।

२०७३ सालदेखि सुरु गरिएको मिस्टर काठमाडौको यो छैठौं संस्करण भव्य रुपले सम्पन्न भइसकेको छ । नेपालभर शारीरिक सुगठनमा आबद् खेलाडीलाई समेट्ने र अझ आकर्षक बनाउने लक्ष्यसहित यस संस्करणलाई परिमार्जित एवं परिस्कृत रूपमा राष्ट्रियस्तरमा आयोजना गरिए आयोजकको भनाई छ ।

प्रतियोगिताको माध्यमबाट बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्समा आबद्ध खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै खेलाडीहरूको क्षमता प्रदर्शन र विकासका लागि महत्वपूर्ण मञ्च उपलब्ध भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष बडीबिल्डिङका विधागत विजेताका लागि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ४० हजार, रु. २० हजार र रु. १० हजार पुरस्कार राशि रहेको थियो। प्रतियोगिताको ओभरअल विजेताका लागि रु. ५ लाख पुरस्कार राशि व्यवस्था गरिएको थियो। पुरुष स्पोर्ट्स फिजिक, पुरुष एथलेटिक फिजिक, महिला एथलेटिक फिजिक, महिला शारीरिक सुगठन, जुनियर तथा मास्टर्स विधाका लागि पनि छुट्टाछुट्टै पुरस्कार राशि राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *