बाल शिक्षाका लागि रु. दुई लाखको अक्षय कोष स्थापना गर्ने घोषणा
पोखरा, असोज १७ । सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनिल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा ४१औँ पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज गोठाजु, द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ, निर्देशकमा ज्ञानेश्वर राज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा मदन मुल्मी, सहसचिवमा जमुना अधिकारी तथा सदस्यमा शशी मर्सानी र वीरेन्द्र बाटाजू चयन भएका छन्।
पदस्थापना समारोहमा निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए। निर्वाचन संयोजक इन्दिरा मर्सानी श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पद्मराज पहारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा रूपा गाउँपालिका–५ का अध्यक्ष रञ्जन खनाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, समाजसेवी अशोक पालिखे, सल्लाहकार समिति संयोजक सचिन श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तलगायत विभिन्न सामाजिक संघसंस्था तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले सिद्धार्थ क्लबलाई सेवा, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। संस्थाको विधान, नीति, नियम तथा मूल्य–मान्यतालाई आत्मसात् गर्दै पारदर्शिता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्ने उनले बताए।
वि.सं. २०४१ सालमा स्थापना भएको सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक जनचेतनालगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी कार्यकालमा समाजको आवश्यकता पहिचान गरी प्रभावकारी, परिणाममुखी र दिगो कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए।
श्रेष्ठले आफू वि.सं. २०७४ साल भदौ १० गते क्लबको सदस्यका रूपमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्षको जिम्मेवारी प्राप्त हुनु आफ्ना लागि पदभन्दा पनि विश्वास, सम्मान र थप जिम्मेवारी भएको बताए। क्लबका सदस्य, पूर्वअध्यक्ष, पदाधिकारी तथा शुभेच्छुकको सहकार्यबाट संस्थालाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।
विपद् प्रभावितका लागि रु. ५ लाख २० हजार सहयोग
सिद्धार्थ क्लबले हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि देश तथा विदेशमा रहेका सहयोगी मनबाट रकम संकलन गरी रु. ५ लाख २० हजार ३३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
मानवीय सेवाका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विपद् तथा संकटका समयमा आवश्यकताका आधारमा सहयोगका कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
बुबाको स्मृतिमा रु. दुई लाखको अक्षय कोष
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातमै बाल शिक्षाका लागि महत्वपूर्ण घोषणा गरेका छन्। उनले आफ्ना स्वर्गीय बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा रु. दुई लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षय कोष’ सिद्धार्थ क्लब पोखरामार्फत सञ्चालन गरिने र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराइने श्रेष्ठले बताए।
परिवारको तर्फबाट क्लबलाई रु. दुई लाख हस्तान्तरण गर्ने घोषणा गर्दै श्रेष्ठले आगामी वर्षहरूमा कोषको रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। बुबाको स्मृतिलाई केवल सम्झनामा सीमित नराखी सामाजिक सेवामा रूपान्तरण गर्ने उद्देश्यले अक्षय कोष स्थापना गर्न लागेको उनको भनाइ थियो।
पदस्थापना समारोहका अवसरमा क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी वितरण गर्नुका साथै २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो। रक्तदान कार्यक्रमका दाता तथा सामाजिक सेवामा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको थियो।
नयाँ कार्यसमितिले शिक्षा, स्वास्थ्य, बालबालिका, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै सिद्धार्थ क्लबलाई थप प्रभावकारी र समाजका लागि भरोसायोग्य संस्थाका रूपमा अघि बढाउने जनाएको छ।
नयाँ कार्यसमिति
- अध्यक्ष: सुनिल श्रेष्ठ
- प्रथम उपाध्यक्ष: नवराज गोठाजु
- द्वितीय उपाध्यक्ष: प्रकाशमान श्रेष्ठ
- निर्देशक: ज्ञानेश्वर राज श्रेष्ठ
- सचिव: अनिल श्रेष्ठ
- कोषाध्यक्ष: मदन मुल्मी
- सहसचिव: जमुना अधिकारी
- सदस्य: शशी मर्सानी
- सदस्य: वीरेन्द्र बाटाजू

