२७ पुस, काठमाडौं । सरकारले अध्यादेशमार्फत कम्पनी ऐनमा संशोधन गर्दै स्टार्टअप कम्पनीहरुमा विभिन्न किसिमले योगदान गर्नेलाई ४० प्रतिशतसम्म ‘स्वेट सेयर’ जारी गर्न सकिने व्यवस्था गरेको छ ।
सोंच वा श्रम योगदानमा सेयर दिन नमिल्ने विद्यमान कानुनी प्रबन्धका कारण स्टार्टअप कम्पनीहरुले नविन सोंच र श्रम लगानी गर्ने साझेदार वा कर्मचारीलाई सेयर दिन सक्दैनथे ।
खासगरी सूचना प्रविधि र अन्य क्षेत्रका स्टार्टअप कम्पनीहरुले विदेशमा जस्तै श्रम वा सोंच लगानी गरेबापत सेयर दिन मिल्नेगरी कानुनी ब्यबस्था गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए ।
शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले कम्पनी ऐन २०६३ मा यस्तो संशोधन प्रस्ताव गरेको हो ।

