झरना जस्तै बगेको बाल्यकाल, र अहिलेको बाध्यताको बगर” “ए साथी, अझै सम्झिन्छौ त हाम्रो त्यो बाल्यकाल? त्यो धूलो उड्ने बाटो, उस्तै लुगामा उस्तै मुड, अनि त्यो खोला — जहाँ हाम्रो हाँसोको छाल उस्तै गर्जन्थ्यो।” गाउँको त्यो रमाइलो जीवन, जहाँ बिहानको सूर्यसँगै उठ्थ्यौं र साझ पर्नासाथ आमा बा कराई हाल्नुहुन्थियाे “अब घर फर्क त!” खोला नालामा माछा खोज्ने, उकाली ओरालीमा लखेटी खेल्ने, बन भाेज अनि कहिलेकाहीँ झगडा पनि, तर ५ मिनेटमै फेरि मिल्ने ती साथीसँगको मायालु समय थियाे तर अहिले त्यो झरझर बग्ने खोला सुक्दैछ, त्यही खेत अब बाँझो छ। हामी सबै शहर पसेका छौं, कोही पाेखरा काेहि काठमाडौंतिर जागिरको पछि, कोही सात समुद्र पारि का देश तिर …। जिन्दगी अब Excel Sheet र Deadline भित्र सीमित छ। साथीको ‘ए ब्रो!’ भन्ने कलको ठाउँमा अब Zoom meeting छ। अब सँगै माछा मार्न हिँड्ने होइन, WhatsApp मा “busy” देखिन्छ। हिजो त्यो गाउँ हाम्रा सपना हुन्थ्यो, आज त्यही गाउँ सपनाजस्तो भइसक्यो। बुढाबुढी बाबुआमाले सोध्छन् — “छोरा, कहिले फर्किन्छस्?” तर जवाफमा हामी ‘छिट्टै’ भनेर टार्छौं। किनकि जवाफ छैन, केवल बाध्यता छ। जिन्दगीको दौडले हामीलाई गाउँदेखि धेरै टाढा ल्याइदिएको छ। हामी ‘भविष्य बनाउने’ नाममा हिजोको सुन्दर वर्तमान गुमाउँदैछौं। तर समय आउँछ — जब हामी सबै थाकेर फर्किनेछौं, त्यही पुरानो आँगनमा फेरि हाँसो गुन्जिनेछ, त्यही खोला फेरि हाम्रो छालले भरिनेछ, साथीहरू फेरि बाल्यकालका कुरा सुनाउँदै हाँस्नेछन्। हुन त जिन्दगीले गाउँ छाड्न बाध्य बनायो, तर गाउँ कहिल्यै हाम्रो मनबाट कहाँ छुट्यो र? जहाँ गोधूलिको समय सूर्यभन्दा पहिला गाईभैंसी घर फर्कन्छन्। गाउँ — त्यो भूमि जहाँ धूलोमा पनि मायाको बास हुन्छ, हिलोमा पनि आशाको अङ्कुर पलाउँछ। शहरमा हरेक कुरा पैसा तिर्नु पर्छ, तर गाउँमा माया नि:शुल्क पाइन्छ। गाउँको तुलसीको चौर, छानोको सिरानी, र चुलोको माटो — यी सबैमा कुनै अदृश्य तागत हुन्छ, जसले कहिले नटुट्ने सम्झनाको डोरी बाँधेर राख्छ। तर, यथार्थ केही फरक छ। अहिले गाउँमा बुढाबुढी मात्र छन्। छोराछोरी सबै सहरतिर गएका छन् — कोही पढ्न, कोही काम गर्न, अनि कोही त फर्किन्न भनेरै गएका। आँगन सुनसान छ, धुरीमा कुनै छोरोको गोजी छैन, बुढा बाबा आमाको हातको अचार खाने कोही छैन। शहरले सायद पैसा दिन सक्छ, तर बाबा अामा झोंक, हाँसो अनि ती खेतमा खेल्ने बाल्यकालका रमाइला पलहरू फर्काइदिन सक्दैन। अब गाउँ फिर्ता जानु समयको माग मात्र होइन — यो हाम्रो जरासँगको पुनःसम्बन्ध पनि हो।
सम्जना मादि गाउपालिका वडा न ५ चितेपानि काे

